पुँजीबजार सुधार कार्ययोजना सार्वजनिक, सेबोनले तोक्यो कार्यान्वयनको समयसीमा
- BFIS News
- 2025 Oct 14 13:31

काठमाडौं। नेपाल धितोपत्र बोर्डले पूँजी बजार सुधार कार्ययोजना सार्वजनिक गरेको छ। बोर्डले कार्यान्वयनको समयसीमा नै तोकेको छ। लगानीकर्ताले गएको आइतबार नेपाल धितोपत्र बोर्ड नै घेराउ गरेर सुझाव कार्यान्वयनका लागि दवाव दिएका थिए।
लगानीकर्ता सँगको सहमति अनुरुप बोर्डले आज कार्यान्वयनको समयसिमा नै तयार पारेर सार्वजनिक गरेको छ। जसमा पूँजी बजार सुधार सुझाव कार्यदलले सिफारिस गरेका सुधारात्मक कार्यहरू कार्यान्वयनको दिशामा क्रमशः अघि बढिरहेको बताइएको छ।
नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) र धितोपत्र दलाल व्यवसायीहरूका समन्वयमा पुँजी बजार सुदृढीकरणका थुप्रै कार्यक्रम कार्यान्वयनको चरणमा पुगेको बोर्डले जनाएको छ।
कार्यदलले सिफारिस गरेको पहिलो महत्वपूर्ण कदमका रूपमा मार्जिन कारोबार (Margin Trading) प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ। यस सम्बन्धमा एक समिति गठन गरी मार्जिन कारोबारसम्बन्धी निर्देशिकाको पुनरावलोकन भइरहेको छ। अध्ययन अन्तिम चरणमा पुगेको र आगामी २०८२ कार्तिक मसान्तसम्म यस्तो कारोरबार पूर्णरूपमा कार्यान्वयन हुने अपेक्षा गरिएको छ। यसले लगानीकर्तालाई मार्जिन कारोबार सेवा प्राप्त गर्न सहज बनाउनेछ।
त्यसैगरी, International Securities Identification Number (ISIN) मा एकरूपता कायम गर्न नेपाल धितोपत्र बोर्ड र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निश्चित मापदण्ड तय गर्ने कार्य सुरु गरिसकेका छन्। सिडिएससीले तयार पारेको निर्देशिका हाल बोर्डको कानुन प्रवलीकरण समितिमा छलफल भइरहेको छ र उक्त समितिबाट प्राप्त सुझावका आधारमा निर्देशिका स्वीकृत गरिने बोर्डले जनाएको छ। यो काम पनि कार्तिक मसान्तसम्ममा पुरा हुने भनिएको छ।
बोनस शेयर वितरणसँग सम्बन्धित लाभांश कर अब लगानीकर्ताले अलग्गै तिर्नु नपर्ने भएको छ। सूचीकृत संगठित संस्थाले लगानीकर्तालाई वितरण गरिने बोनस शेयरमा लाग्ने कर रकम मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन जारी गर्ने तयारी गरेको छ। यसले बोनस शेयर प्राप्त गर्ने प्रक्रिया सरलीकृत बनाउने अपेक्षा गरिएको छ।
धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताबीच समयमा रकम भुक्तानी हुन नसकेका कारण सिर्जित दायित्व वा प्रतिफल भुक्तानीमा पनि एकरूपता ल्याउने तयारी भएको छ। यस सम्बन्धमा Benchmark दरका बारेमा अध्ययन भईरहेको र आवश्यक व्यवस्थागत एकरूपता कायम गरिनेछ। साथै, लगानीकर्ताले अब दुई वा सो भन्दा बढी हितग्राही (Demat) खाता खोल्न सक्ने गरी सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ। यसका लागि राष्ट्रिय परिचयपत्र (National ID) लाई Unique Client Code को रूपमा प्रयोग गर्ने तयारी भइरहेको छ, जसले खाता ट्र्याक गर्न सहजता ल्याउनेछ। यो प्रक्रिया २०८२ मंसिर १५ भित्र सम्पन्न गरिने लक्ष्य छ।
नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीहरूको वित्तीय सवलता, तरलता र सुशासनका आधारमा वर्गीकरणलाई वस्तुनिष्ठ बनाउने तयारी पनि गरेको छ। वर्गीकरणपछि जेड (Z) समूहमा पर्ने कम्पनीहरूको कारोबार गर्दा शतप्रतिशत नगद मार्जिन लिनुपर्ने व्यवस्था गरिनेछ। यसले बजारमा अस्वभाविक उतारचढाव रोक्ने र लगानीकर्ताको हित सुरक्षित गर्ने अपेक्षा गरिएको छ।
लगानीकर्ताको समस्या र गुनासो तत्काल सम्बोधन गर्न गुनासो व्यवस्थापन संयन्त्र स्थापना गरिनेछ। साथै, धितोपत्र सम्बन्धी कसूरको छिटो र प्रभावकारी जाँचबुझका लागि Dedicated संयन्त्र विकास गर्ने तयारी छ।
त्यस्तै, आम लगानीकर्ताको सचेतना अभिवृद्धि र पूँजी बजार साक्षरता विस्तारका लागि प्रशिक्षण तथा कार्यशालाहरू निरन्तर सञ्चालन भइरहेको र यसलाई अझ प्रभावकारी रूपमा अघि बढाउने योजनासमेत बनाइएको छ।
समग्रमा हेर्दा, कार्यदलका सिफारिसहरू कार्यान्वयनतर्फ ठोस प्रगति गर्दै गइरहेको देखिन्छ। मार्जिन कारोबार प्रणालीदेखि लगानीकर्ता सचेतनामासम्मका सुधारले निकट भविष्यमा नेपालको पूँजी बजार थप व्यवस्थित, पारदर्शी र लगानीकर्ता मैत्री बन्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया