एसवाई प्यानल नेपालले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
- BFIS News
- 2025 Oct 28 10:55
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आगामी कात्तिक १९ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गर्ने निर्णय गरेको हो।
यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। ती चरण पूरा भएपछि अब कम्पनी सर्वसाधारण लगानीकर्ताका लागि दोस्रो चरणको आईपीओ ल्याउन लागेको हो।
कम्पनीले कुल जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ मध्ये ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
पहिलो चरणमा कम्पनीले २ लाख ६१ हजार ६२९ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि, र ४ लाख ९७ हजार ९२ कित्ता शेयर विदेशमा रोजगारमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता, र सामूहिक लगानी कोषहरूका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ।
अब कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गर्न लागेको हो, जसको कुल मूल्य ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँ बराबर हुनेछ। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन छिटोमा कात्तिक २३ गते बन्द हुनेछ भने ढिलोमा मंसिर ३ गते सम्म आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई ‘इक्राएनपी इश्युअर रेटिङ डबल बी (ICRANP IR BB)’ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)
















प्रतिक्रिया