राजनीतिक अस्थिरताकै बीचमा लगानीकर्ताको झिनो जिजीविषा, सूचक सँगै कारोबार रकममा सुधार हुँदै
- आयुश बस्नेत
- 2025 Oct 30 15:14
काठमाडौं। पछिल्ला दिनमा शेयर बजार राजनीतिक अस्थिरताको चरम चपेटामा परेको छ। देशभर फैलिएको निराशा र अनिश्चितताबीच भइरहेका राजनीतिक गतिविधिले समय समयमा बजारमा हावा हुण्डरी सिर्जना गरिरहेका छन्, जसको प्रत्यक्ष अप्रत्यक्ष असर शेयर बजारमा परेको छ।
जेनजी आन्दोलनपछि सिर्जिएको अन्योलताका कारण शेयर बजार २५ सय अंकभन्दा तल झरेको थियो। यद्यपि पछिल्ला दिनमा बजार बिस्तारै उकालो लाग्दै गएको छ। शेयर बजार आजका घटनाभन्दा भोलिको संकेत दिने क्षेत्र भएकाले राजनीतिक स्थायित्व र आगामी चुनावसम्बन्धी स्पष्टताका आधारमा लगानीकर्ताको मनोविज्ञान प्रभावित हुँदै आएको देखिन्छ।
बुधबार सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी रिटको सुनुवाइ गर्दै अन्तरिम आदेश नदिएपछि हालको सरकारले अघि बढ्ने बाटो खुलेको संकेत गरेको छ। आगामी फागुन २१ गते निर्वाचन सम्पन्न हुन सक्ने अपेक्षाले बजारमा केही दिनदेखि सकारात्मक धारणा बनेको हो। तर, यदि सो अवधिमा निर्वाचन नहुने वा म्याद थपिने खबर आयो भने बजार फेरि ओरालो लाग्ने सम्भावना प्रबल रहन्छ।
यही परिदृश्यबीच नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार ३४.२२ अंकले बढेर २६ सयको रेखा छोएको छ। आज न केवल सूचकमा सुधार आएको छ, कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। आज कुल ७ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार हुँदा २१६ कम्पनीका शेयर मूल्यमा सुधार आएको छ।
गुराँस लघुवित्त र उन्तती सहकार्य लघुवित्तमा सकारात्मक सर्किट लागेको छ भने सुपर मादी र गणपती लघुवित्तका शेयरमा पनि सर्किट लेभलको वृद्धि देखिएको छ। आजको कारोबारमा सबैभन्दा ठूलो योगदान हिमालयन बैंकको संस्थापक शेयरको रहेको छ, जसको करिब एक अर्ब रुपैयाँ बराबरको कारोबार भएको हो। यसैबीच राधी हाइड्रोपावर र नेपाल पुनर्बीमाको कारोबार पनि उल्लेखनीय रूपमा बढेको छ।
राजनीतिक अस्थिरता बाहेक हालका आर्थिक सूचक र बैंक ब्याजदर भने शेयर बजारमैत्री देखिएका छन्। ब्याजदर हाल सबैभन्दा न्यून स्तरमा छ र बैंकहरूकहाँ पर्याप्त लगानी क्षमता छ। तर, राजनीतिक अन्योलताका कारण कर्जाको माग निकै न्यून भएको र राष्ट्र बैंकलाई अधिक तरलता व्यवस्थापनमा चुनौती आइरहेको बताइन्छ।
लगानीकर्ताहरू अझै पनि राजनीतिक स्थिरता र आगामी निर्वाचनको पर्खाइमा छन्। यद्यपि निराशा र अन्योलताबीच पनि बजारमा झिनो जिजीविषा देखिनु सकारात्मक संकेतको रूपमा लिइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)
















प्रतिक्रिया