नेपाल शेयर बजार लगानीकर्ता संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न, हरिबहादुर केसी अध्यक्षमा चयन
- BFIS News
- 2025 Oct 31 10:26
काठमाडौं, २०८२ कार्तिक १३। नेपाल शेयर बजार लगानीकर्ता संघ (NSIA) को प्रथम वार्षिक साधारण सभा आज राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ। साधारण सभाले आगामी दुई वर्षका लागि हरिबहादुर केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित समितिले लगानीकर्ताको अधिकार सुनिश्चित गर्दै पूँजी बजारलाई थप मर्यादित र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
संघको संस्थागत यात्रा अनुसार, नेपाल शेयर बजार लगानीकर्ता संघ २०८२ साल वैशाख १६ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विधिवत रूपमा दर्ता गरिएको हो। संघको तदर्थ समितिको नेतृत्व डा. केशव प्रसाद श्रेष्ठले गरेका थिए। यसपटकको साधारण सभा दुई चरणमा सम्पन्न भएको थियो खुला सत्र र बन्द सत्र।
खुला सत्र (Open Session) को औपचारिक सुरुवात नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले पानसमा बत्ती बालेर गरेका थिए। राष्ट्रिय गीत र सहिदहरूप्रति मौनधारणपछि सुरु भएको कार्यक्रममा संघका सदस्य राजु प्रसाद पौडेलले सञ्चालन गरेका थिए। स्वागत मन्तव्यमा निवर्तमान अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठले संघको उद्देश्य, उपलब्धि र भावी योजनाबारे प्रकाश पारेका थिए।
शुभकामना मन्तव्यका क्रममा नेप्सेका CEO चूडामणि चापागाईंले नियामक निकाय र लगानीकर्ता संघबीचको सम्बन्धलाई छोरा–बाबुको जिम्मेवारीसँग तुलना गर्दै बजार विकासमा लगानीकर्ताको भूमिकामाथि गहिरो दृष्टिकोण प्रस्तुत गरेका थिए। साथै, पाटन उच्च अदालतका पूर्व न्यायाधीश सलाउद्दिन अख्तर सिद्दिकी, नेपाल शेयर धनी संघका अध्यक्ष घनश्याम पाण्डे, जनरल इन्भेस्टर्स एसोसिएसनका अध्यक्ष ऋतु जंग जीसी, र धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे लगायतका अतिथिहरूले बजारका चुनौती र लगानीकर्ताको जिम्मेवारीबारे शुभकामना व्यक्त गरेका थिए। खुला सत्रको अन्त्यमा उपाध्यक्ष ई. भगवान बहादुर राउतले उपस्थित अतिथि, पदाधिकारी र सहभागीहरूलाई धन्यवाद दिएका थिए।
बन्द सत्र (Closed Session) केही ढिला गरी सुरु भएको थियो, जसमा संघको वार्षिक समीक्षा गरिएको थियो। महासचिव खगेन्द्र राज कँडेल (रविन) ले अघिल्लो वर्षको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष मछिन्द्र बस्नेतले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए। दुवै प्रतिवेदन सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो। यस अवसरमा निवर्तमान अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठले संघ स्थापनाको उद्देश्य, तदर्थ समितिको अनुभव र भावी कार्यदिशाबारे आफ्नो धारणा राखेका थिए।
साधारण सभाले नयाँ १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। निर्वाचित पदाधिकारीहरू यस प्रकार छन् — अध्यक्ष: हरिबहादुर केसी, वरिष्ठ उपाध्यक्ष: किशोर पौडेल, उपाध्यक्ष: ई. भगवान बहादुर राउत, महासचिव: खगेन्द्र राज कँडेल (रविन), सचिव: भुवन ढकाल, कोषाध्यक्ष: मछिन्द्र बस्नेत। साथै, सदस्यहरूमा विवेक श्रेष्ठ, मिना भट्ट, ऋषिराज भेटवाल, कीच: चित्रकार, विष्णु बहादुर सिलवाल, अशोक शाह कानु र राजु प्रसाद पौडेल रहेका छन्।
नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन अधिकृतले पद तथा गोपनीयताको शपथ खुवाई प्रमाणपत्र वितरण गरेका थिए। शपथ ग्रहणपछि नवनिर्वाचित अध्यक्ष हरिबहादुर केसीले सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिँदै लगानीकर्ताको हकहित र शेयर बजारको स्वस्थ, पारदर्शी तथा दिगो विकासलाई आफ्नो कार्यकालको प्रमुख एजेन्डा बनाउने दृढ प्रतिबद्धता व्यक्त गरे।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया