अन्तिम करको स्वागत गरेका शेयर लगानीकर्ताहरु बढेको दरले झस्किए
- BFIS News
- 2026 May 30 05:28
काठमाडौं । शेयर बजारको पूँजीगत लाभकरलाई अन्तिम करको रूपमा मान्यता दिइएको विषयले प्रारम्भमा उत्साहित बनेका लगानीकर्ता करको दर वृद्धि भएपछि निराश भएका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा घोषणा गरे पनि अल्पकालीन कारोबारमा करको दर बढाइएपछि लगानीकर्ताको मनोविज्ञानमा असर पर्ने विश्लेषण गरिएको छ।
यसअघि शेयर खरिद गरेको एक वर्षभित्र बिक्री गर्दा प्राप्त नाफामा ७.५ प्रतिशत पूँजीगत लाभकर लाग्दै आएको थियो। अब भने यस्तो अल्पकालीन कारोबारमा १० प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै, एक वर्षभन्दा बढी अवधि शेयर होल्ड गरेर बिक्री गर्दा हुने नाफामा ७.५ प्रतिशत कर लाग्नेछ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत शेयर बजारको पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिएको घोषणा गरेका थिए। यसअघि यस्तो कर अन्तिम हो वा होइन भन्ने विषयमा स्पष्ट कानुनी व्यवस्था थिएन। नयाँ व्यवस्थासँगै अब शेयर कारोबारबाट प्राप्त आम्दानीमा लाभकर तिरेपछि उक्त रकमलाई पुनः आय गणना वा आयकरको स्ल्याब निर्धारणमा समावेश गरिने छैन।
यस घोषणापछि प्रारम्भिक रूपमा लगानीकर्ताले सरकारको कदमलाई स्वागत गरेका थिए। उनीहरूले लामो समयदेखिको माग सम्बोधन भएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका थिए। तर, अल्पकालीन कारोबारमा कर दर वृद्धि गरिएपछि लगानीकर्ताको उत्साह घटेको देखिएको छ।
विश्लेषकहरूका अनुसार पछिल्लो समय राम्रो बजेट आउने अपेक्षासहित बजारमा सुधारको संकेत देखिएको थियो। बालेन्द्र शाहले प्रधानमन्त्रीको सथप लिएपछि लगातार दबाबमा रहेको बजारमा पछिल्ला साताहरूमा सुधार देखिन थालेको थियो। तर पूँजीगत लाभकर वृद्धि भएपछि बजारको मनोविज्ञान पुनः कमजोर बन्न सक्ने आकलन गरिएको छ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)






प्रतिक्रिया