NIMB Header 2
Nepal Life

करेक्सनले बजारलाई बलियो बनाउँदै, तीन हजारको बेस क्याम्पमा थकाइ मारेपछि उकालो चढ्छ: तुलसीराम ढकाल

National Life
  • BFIS News
  • 2025 Jul 28 16:27
करेक्सनले बजारलाई बलियो बनाउँदै, तीन हजारको बेस क्याम्पमा थकाइ मारेपछि उकालो चढ्छ: तुलसीराम ढकाल
Sanima Reliance

काठमाडौं। शेयर बजारले तीन हजार अंकको अवरोध विन्दुलाई बेस क्याम्प बनाएर विश्राम लिएको छ। लगानीकर्ताको संयमित सोच, गभर्नरको लचिलो नीति, र बजारमा बिस्तारै प्रवाहित हुँदै गरेको लिक्विडिटीले पूँजी बजार नयाँ उचाइको तयारीमा छ। अहिलेको समय सस्तो मूल्यमा ‘मानो रोप्ने’ र भोलिका दिनमा ‘मुरी फलाउने’ अवसर हो।

Shikhar
NIMB

आइतबारको दिन नेप्से सूचक ३ हजार अंक छुने प्रयास गर्दै २९६४ अंकमा थामियो भने सोमबार झिनो २.०७ अंकको गिरावटसहित २९६२ अंकमा बन्द भयो। तीन हजारको स्तर अझै पार गर्न नसके पनि लगानीकर्ताको व्यावहारिकता र संयमित सोचले बजार बलियो हुँदै गएको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउछन्।

अध्यक्ष ढकालका अनुसार, अहिले बजारमा 'इन्ट्रा डे करेक्सन' हुँदै अगाडी बढिरहेको छ। उनका अनुसार, बजार तीन हजार कटाउने प्रयासमा छ, तर गत वर्षको अवरोध विन्दुलाई पार गर्न केही समय लाग्ने देखिएको छ।

लगानीकर्ताको परिपक्वता

“अहिलेका लगानीकर्ता परिपक्व छन्। डराउनु पर्ने अवस्था छैन,” ढकाल भन्छन्। राष्ट्र बैंकले हालै गरेको सर्कुलर अनुसार शेयर धितो कर्जाको सीमा १५ करोडबाट २५ करोड पुर्याइएको छ। थपिएको १० करोड बजारमा आउन बाँकी छ।"

बैंकहरुले ७ देखि ७.५ प्रतिशत ब्याजदरमा शेयर धितो कर्जा उपलब्ध गराइरहेका छन्। बैंकिङ प्रणालीमा झण्डै ९ खर्बभन्दा बढी लिक्विड पैसा छ भने निक्षेप ७३ खर्ब माथि पुगेको छ। कर्जा लगानी ५६ खर्ब मात्रै भएकोले सिडी रेसियो ७५.९४ प्रतिशतमा सीमित छ। अहिले अन्यन्त्र क्षेत्रमा कर्जा प्रवाह हुने सम्भावना ज्यादै कम छ। त्यसैले पूँजी बजारमा लगानीको ठूलो सम्भावना रहेको विश्लेषकहरु बताउछन्।

नयाँ गभर्नरको आगमन, नयाँ उत्साह

आइतबार शेयर बजारमा २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भयो। जुन हालै नियुक्त भएका गभर्नर डा. विश्व पौडेलको कार्यकालपछि देखिएको सर्वाधिक कारोबार हो। सोमबार पनि १९ अर्ब ३६ करोडको कारोबार भयो। बजार पूँजीकरण हाल ४९ खर्ब ४२ अर्ब पुगिसकेको छ।

गभर्नर पौडेल पूँजी बजार मैत्री गभर्नरकारुपमा चिनिन्छन्। उनले अघिल्ला गभर्नर महाप्रसाद अधिकारीको धेरैजसो कडाइ नीति क्रमशः खुकुलो बनाउँदै लगेका छन्। यसले बजारमा नयाँ ऊर्जा थपिएको ढकालले बताए।

तीन हजार’ किन काटिएन?

ढकाल भन्छन् “तीन हजार बजारको बेस क्याम्प हो। बेस क्याम्पमा बसेर थकाइ मारेपछि मात्रै बजार अगाडि बढ्छ। तीन हजार आइतबार पार भएको भए बजारमा डर हुन्थ्यो तर करेक्सनले राम्रो मौका दिएको छ।”

उनका अनुसार, बजार परिपक्व हुन करेक्सन आवश्यक छ। 'करेक्सन'ले बजारलाई दीर्घकालीन बनाउनुका साथै सर्वाधिक उचाइमा पुर्याउन टेवा पुर्याउने उनको विश्लेषण छ। उनले थपे, बजार आक्रामक रुपमा होइन, स्थिर र रणनीतिक रुपमा अगाडि बढ्नु जरुरी छ।

अहिलेको बजार सशक्त बनाउने काम मौद्रिक नीतिले गरिरहेको छ। बजारमा अझै प्रचुर लिक्विडिटी छ, शेयर धितो कर्जाको सीमा बढेको छ र लगानीकर्ताको सोच परिपक्व बनेको छ। यसले निकट भविष्यमा नेप्से सूचक ऐतिहासिक उचाइमा पुग्ने सम्भावना प्रवल देखिन्छ। तर त्यसका लागि संयमता, रणनीति र समय तीनै कुराको राम्रो सन्तुलन चाहिन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया