प्रधानमन्त्रीज्यु, ‘उड्ने कार’ आयो, अब समाजवाद आउँछ !
- रिसव गौतम
- 2025 Aug Thu 10:51

काठमाडौं। गाडी शाहुहरुको संगठन नाडा अटोमोबाइल एसोसिएसनको ‘१७ औ नाडा अटो शो’ मंगलबारबाट भृकुटीमण्डपमा सुरु भएको छ । प्रर्दशनीको आर्कषणको रुपमा चाईनाबाट ल्याइएको ‘उड्ने कार’ हेर्न अवलोकनकर्ताहरुको घुइँचो देखिन्छ ।
गुडियाझै सजाइएको ‘उड्ने कार’ हेरेपछि कम्युनिष्ट प्रधानमन्त्री केपि शर्मा ओली समेत दंगदाश परे । र, भने –‘संसारमा प्रविधिले अनौठो प्रगति गर्यो ।’ तर नेपालमा पनि आफ्नै कला र प्रविधि विकास गरेर गाडीहरु उत्पादन गर्नुपर्छ उनले भनेनन् ।
हुन त आफनै देशमा एसेम्बल गरी ब्राण्डिङ गरिएको मुस्ताङ गाडी चढेर स्वदेशी उत्पादनलाई प्रोत्साहन गरेका पुर्बप्रधानमन्त्री डा बाबुराम भट्राई जस्ता नेता पनि त छन् । तर प्रधानमन्त्री ओलीको त्यो खालको चेतना देखिएन । किनकी उनी दलाल पुँजीपती र विचौलियाको घेरबन्दीमा छन् भनिन्छ । प्रधानमन्त्रीको किचेनसम्म विचौलियाकै राफताप रहेको काँग्रेसकै कतिपय प्रभावशाली नेताहरुले बताएकै हुन् ।
भृकुटीमण्डपमा प्रर्दशनमा राखिएको ‘उड्ने कार’ नेपालीहरुले हेरे, छुन पाएनन्, चड्ने धेरै परको कुरा होला । ‘उड्ने कार’ देखाएर दर्शक भित्राउने गाडी शाहुहरुको गज्जबको फर्मुला पनि हो । त्यसमाथी समाजबादको डम्फु बजाउँदै आएका कम्युनिष्ट प्रधानमन्त्रीले उद्घाटन नै गरिदिएर हौसल्ला भरे । मानौं, अब समाजवाद ‘उड्ने कार’सँगै आउँछ । अर्का पुर्बप्रधानमन्त्री प्रचण्डले त प्रर्दशनीको अवलोकन गर्दै ‘उड्ने कार’ भित्र बसेरै हरे । सायद समाजवादको अनुभव भयो पनि होला ।
एकातिर देशमा निरपेक्ष गरिवी २० प्रतिशत हाराहारी छ, एउटा तप्का भोक, रोगले यो २१औं शताब्दीमा पनि प्रताडित छ । अर्थतन्त्र पुरै जर्जर र परनिर्भर छ । गाडी घोडाको त के कुरा जनाईदेखि सियोसम्म विदेशबाटै आयात गर्नुपरेको विडम्बना छ । अर्कोतर, गाडी शाहुहरुले ‘उड्ने कार’ प्रर्हसल गरेर कम्युनिष्ट प्रधानमन्त्रीको समाजवादको सपनामा उडान भरेका छन् ।
के उड्ने कार देखाएर आफना आयातित महंगा गाडीहरु बेच्न लागि परेका शाहुजिहरुलाई प्रोत्साहन गरेर देशको अर्थतन्त्र आत्मनिर्भर होला ? ती शाहुजीहरुले आयात गर्ने महंगा विलासी गाडीहरुमार्फत देशको ठुलो धनराशी बाहिरिएको छ । बार्षिक ब्यापार घाटा १४–१५ खर्ब छ । देशको आफनै मौलिक उत्पादन केही छैन । तरपनि कम्युनिष्ट पार्टी भन्नेहरुसँग एकथान समाजवाद पुग्ने सिद्धान्त कथा छ । त्यो जबज होस्, माओवाद होस् या अनेकन कलेबरका वादहरु हुन् । न ति ब्यवहारिक छन् न कहिल्यै लागु हुन्छन् । हात्तिका देखाने दाँत जस्ता भएका छन् ।
के हामी ठन्डा दिमागले सोचौं त । हामी नेपालीहरुको आर्थिक हैसियत करौंडौ बजार मुल्य भएका महंगा बिलासी गाडी चढ्ने छ त ? सिमित धनाद्यहरु होलान् । तर अहिले त आम रुपमा विलासी गाडीहरुको देखासिखि बढीरहेको छ । जसले भष्ट्राचार, ठगी, करछली, वित्तिय अपराध अथवा अनेक रगंका कुर्कमलाई प्रसय दिइरहेको छ । जसरी हुन्छ कमाउने र विलासी गाडीमा रमाउने भन्ने खालको सोचहरु देखिन्छ । सरकार आर्थिक रुपमा खोक्रो भइसकेको छ । विकास बजेट भन्दा वित्तिय व्यवस्थापन तर्फको खर्च रकम बढीरहेको छ । ३५० अर्ब भन्दा बढी रकम त सरकारले बार्षिक रुपमा ऋणको सावाँब्याज छुट्याउन खर्च गर्नु परेको छ । सरकारले राजस्व रकम संकलन गर्न पनि विलासी गाडीहरुको आयातमा सघाइरहेको छ ।
तर अहिले पनि देशमा ६० लाख भन्दा बढी मानिस विहान के खाने अनि बेलुकी के खाने भन्ने अवस्थामा छन् । ‘उड्ने कार’ का शाहुजीहरुको पछि लाग्ने कि ती गरिव, निमुखाहरुको कसरी स्तर उन्नती गर्ने भन्नेतर्फ सोेच्ने हो प्रमज्यु ? अब त सघाँरमै दशै, तिहार जस्ता पर्व आएका छन् । एकाथरी मान्छे करोडौंका कारमा चडेर घरगाउँ सफारी गर्ने र बाटोमा हिँडेका गरिव गुरुवाहरुलाई हिलो छ्याप्दै हिँड्ने वेला आउँदैछ । तर संविधानमै समाजवाद भनेर लेखिए पनि घुमाउरो पाराको सामन्तबाद झन् बढी मडारिएको छ । बोल्न नसक्ने, पुँजी नभएका मानिसहरु, संघ सस्थाहरु प्रताडित छन् । बर्चस्ववालाहरु, दलाल पुँजीपतिहरु, विचौलियाहरुको देशमा रजगज छ ।
शिक्षा, स्वास्थ्य, ब्यापार, ठेक्कापट्टा जहाँ जतापनि छलछाम गर्ने, धुर्त, टाठा बाठा, विचौलियाहरुको रजगज देखिन्छ । अनि आउँछ समानता र समाजवाद ? कम्युनिष्ट नेताले चलाएको सरकार यस्तै हुन्छ ? किन गरिव, किसानलाई अपनत्व हुनेगरी बजेट तथा नीति कार्यक्रम आउँदैन ? किन असली किसानले वित्तिय संघ सस्थाबाट सजिलै ऋण पाउँदैनन् ? किन असली किसानले अनुदान पाउँदैनन् ? त्यता पो सोच्ने हो कि पिएम ज्यु ? सरकार भनेको अलि बढी कमजोर वर्गको भरोषाको केन्द्र हुनुपर्छ नी । गरिव तथा तल्लो वर्गको उथ्थान नगरी तपाइले भन्या जस्तो ‘शुखी नेपाली, सम्बृद्ध नेपाल’ आउँदैन पिएम ज्यु । आज गाउँघरमा अलिअलि देखिएको शुख सम्बृद्धि सबै विदेशीएकाहरुले पठाएको रेमिटयान्स्ले भरथेग गर्दा हो ।
त्यसकारण प्रधानमन्त्रीले गाडी शाहुहरुलाई नपालमै गाडी बनाउनुस् । त्यसको लागि सरकार सहयोग गर्न तयार छ । विदेशी महंगा गाडी नचढौं । ५० लाख भन्दा माथिल्लो दामका गाडीहरु नेपालमा बेच्नै नदिए पनि हुन्छ । किनकी यो गरिवी र असमानताले जकडिएको देशमा त्यस्ता विलाशी गाडीहरुले गरिव माथी नै भयंकर ब्यङग गर्छ । विदेशबाट आयात गर्ने, विचको मार्जिनमा रमाउने ब्यापारीहरुले सहयोग गर्ने भनेको विदेशको सम्बृद्धिलाई हो । त्यो खालको ब्यापारले देश उभो पनि लाग्दैन ।
दलाल पुँजीपतीहरुलाई दुरुत्साहन र स्वदेशी राष्ट्रिय औधोगिक पँुजीपतीहरु जसले रोजगारी र आफनै देशमा उत्पादन बढाउन सहयोग गरेका छन् उनीहरुलाई प्रोत्साहन गरौं । उदारवादको नाममा पुरापुर खुल्ला गरेर देशलाई विदेशीको बजारमा मात्र बनाउने हो भने हामी कसरी धनी हुन सक्छौ ? कसरी रोजगारी सिर्जना हुनसक्छ । भृकुटीमण्डप प्रर्दशनमा राखिएका ८० प्रतिशत भन्दा बढी ब्राण्डका गाडीहरु आयातीत हुन् । त्यहाँ नेपालीकोे केही अपनत्व छैन । त्यस्ता चिज, त्योपनि करोेडौं पर्ने विलाशी कार, ‘उड्ने कार’ देखेर दंगदाश पर्ने हो भने प्रमज्यु यो देश खोक्रो हुनेछ ।
देशको ‘ब्यालेनसिट’ गडबड हुनेछ । देश ऋणै ऋणमा डुब्नेछ । अहिले नै जिडीपीको ४० प्रतिशत देशको ऋण भइसक्न लागको छ । त्यो सानो कुरा होइन् । त्यो ऋण कसरी तिर्ने, कहाँ–कहाँ खर्च भयो त्यत्रो पैसा ? सामाजिक तहमै त्यसको अडिट गर्नुपर्ने बेला भएन र ? ३ करोड नेपालीको प्रतिधित्व गरेर सक्तामा पुग्नु भएको तपाई प्रधानमन्त्रीले शाहुजीहरुको चिन्ता गर्ने होइन नी । उनीहरुको आम्दानीमा थोरै गिरावट आएछ भने केही फरक पर्दैन तर देशमा असमामनता र गरिवी चाँही घटाएर देखाउनुस् न ।
छिमेकमा तपाईकै छेको सक्तामा आएका राष्ट्रपती सिजिपिङले गत १० बर्षबीच ४० करोड जनतालाई गरिवीको रेखाबाट एकैचोटी शुन्यमा झारेर चमत्कार गरे, तपाइहरुले कति झर्नु भो ? तपाइहरुको भजन–किर्तन, गाउने र आसेपासेहरु उभो लागे, अरु किन पछि परे ? त्यसको पनि हिसाव राख्नुस् पिएम ज्ुयु । किनकी तपाइ ३ करोड नेपालीको पिएम हो । एउटा कुरा थाहा पाउनुस् पिएमज्यु, संसारकै धनी एलन मक्सहरुको कार (टेस्ला) खरिद गर्ने नेपालीको आम औकात हुदै होइन् । र, उनका गाडी घोडाहरुको प्रर्हसल नेपालमा जरुरी पनि होइन । नेपालमा नेपाली उत्पादनहरुको प्रर्हसल जरुरी होे । बरु पाडा, पाडी किनेर किसानलाई बाँडने जो कुरा गर्नुहुथ्यो, त्यो जरुर सही छ । बाँड्नुस् त्यो राज्यकै पैसाले बाँडेपनि त्यसले देशलाई नै फाइदा गर्छ । उत्पादन र निर्यातलाई टेवा दिन्छ ।
३ सय ५२ बिलियन डलरका मालिक एलन मक्स जो पुरै नेपालको जिडीपीको आकार (४५ विलियन डलर) भन्दा ८ गुणा धनी छन् त्यस्ताहरुको ब्राण्ड बेच्ने अभियानमा तपाइ प्रधानमन्त्रीले किन प्रोत्साहन गर्ने ? के ‘उड्ने कार’ भित्रियो, अव समाजवाद आउँछ त ? सोचौं, व्यवहारिक र यर्थातपरक भएर सोचौं । हामी हाम्रो लागि अघि बढ्ने कि सिमित पुजिँपती र विदेशीको लागि ?
(गौतम आर्थिक लेखक तथा विश्लेषक हुन्।)
प्रतिक्रिया